Sunday, April 19News That Matters

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

पूर्णपुष्टि, माघ २३ । सुनिल राई÷गाईघाट । 

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार थारुहट रङ्गशालामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले यही फागुन १ गतेदेखि हुने राष्ट्रिय स्तरको एन्फा वुमेन्स च्याम्पियनसिप प्रतियोगिता नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको जानकारी दिए ।

महासचिव राईले यस प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूको सहभागिता रहेको जनाएका छन् ।

यस प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लबको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लब र न्युरोड टिम बीच हुनेछ ।

१ गतेबाट सञ्चालन भएको यस प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुनेछ । यस प्रतियोगिताको आयोजक अखिल नेपाल फुटबल संघ एन्फा रहेको छ भने सहआयोजकमा जिल्ला फुटबल संघ उदयपुर रहेको छ । यस प्रतियोगिताको उपाधि विजेताले नगद रु. ७ लाख ५० हजार रूपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।