
पूर्णपुष्टि, भदौ १२
उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २४ बर्षीय अभिषेक खड्का रहेका छन् । घाईते हुनेमा मृतककै श्रीमती २० वर्षीया संगीता खड्का रहेकी छिन् ।
घुमफिरका लागि गएका श्रीमान श्रीमती इटहरीबाट कटारीतर्फ आउँँदै गर्दा दुर्घटनामा परेको हो । प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार सडक खण्डको इकराहा खैराहामा शनिबार दुर्घटना भएको थियो । चौदण्डीगढी नगरपालिका ९ इकराहा स्थित घुम्ती मोडमा आफै अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको मृत्यु भएको थियो ।
घाइते श्रीमतीको भने उपचारपछि डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । मृतकको शव उदयपुृर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइएको छ । मृतक नेकपा माओवादी केन्द्र कटारी नगरपालिका ४ का पार्टी अध्यक्ष रामबाबु खड्काका एक्लो छोरो हुन् । उनिहरुको केहि महिनाअघि मात्रै विवाह भएको थियो ।
