
पूर्णपुष्टि, भदौ २ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासस्थितबाट लागुऔषध एम्पुल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २३ बर्षीय सुजन राउत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन ३१ गते अस्थाई प्रहरी पोष्ठ हाडेबासबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध २०७ एम्पुल सहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बुप्रिनोर्फिन–६८ एम्पुल, डाइजेपाम–७२ एम्पुल, प्रोमेथाइजिन–६७ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागूऔषध र ४ वटा सिरिन्ज बरामद गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
