
पूर्णपुष्टि, माघ ५ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–४ का २२ बर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार अस्थाई प्रहरी चौकी चुँहाडेवाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–८ चुँहाडेबाट श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले फेनारगन १७ एम्पुल, ब्रुपिनोफिन १७ एम्पुल, प्रोमेथाईजिन १७ एम्पुल गरी जम्मा ५१ एम्पुल बरामद गरेको डीएसपी चौधरीले बताए । पक्राउ परेका श्रेष्ठलाई उदयपुर जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
