Sunday, May 3News That Matters

उदयपुर कटारीमा फोहोर सँगै नवजात शिशु मृत फेला

पूर्णपुष्टि, ४ माघ ।
उदयपुरको कटारी नगरपालिका ३ स्थित राजावासमा फोहोरको डम्पिङ साईटमा नवजात शिशुको शव फेला परेको छ ।
कटारी नगरपालिका– ३, राजावासमा रहेको फोहोर विसर्जनस्थल (डम्पिङ साइट) मा फालिएको फोहोरमा नवजात शिशुको शव फेला परेको हो ।

वडा सदस्य पुष्प खाँले फोहोर सङ्कलन गरी फोहोर छुट्याउने क्रममा कामदारले फोहोरसँगै फालिएको कपडाभित्र शिशुको शव देखेको बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडा सदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहोरमा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । आजै उठाइएको फोहोरमा शव रहेछ वडासदस्य खाँले भने, ुनगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।