Sunday, April 26News That Matters

उदयपुरमा सूचनाको हक कार्यान्वयन सम्बन्धमा सूचना अधिकारीबीच छलफल सम्पन्न

पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा १९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सरकारी कार्यालयका सूचना अधिकारीहरूबीच सूचनाको हक कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार “सूचनाको हाम्रो अधिकार, सुशासन र विकासको आधार” भन्ने मुख्य नाराका साथ आयोजना गरिएको कार्यक्रमको संयोजन जिल्ला हुलाक कार्यालयले गरेको थियो भने समन्वयन जिल्ला प्रशासन कार्यालयले गरेको थियो ।

कार्यक्रममा दुई वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्र “सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका” विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले प्रस्तुत गर्नुभएको थियो । दोस्रो कार्यपत्र “हुलाक सेवाको परिचय र सूचनाको हक कार्यान्वयनमा जिल्ला हुलाक कार्यालयको भूमिका” विषयमा हुलाक अधिकृत ललिता देवी खनालले प्रस्तुत गर्नुभएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले गर्नुभएको थियो । जिल्लाका सबै सरकारी कार्यालयका सूचना अधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुइटेलले सूचना अधिकारीहरूलाई पारदर्शी र सरल रूपमा सूचना उपलब्ध गराउन विशेष निर्देशन दिनुभएको थियो । यस कार्यक्रमले सूचनाको हकको कार्यान्वयनमा सरकारी कार्यालयका सूचना अधिकारीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।