Tuesday, April 21News That Matters

उदयपुर बाखोर – हलेसी लिम्चुङ्बुङ धाक्रे पद यात्रा सुरु

पूर्णपुष्टि, ६ बैशाख ।
पर्यटन प्रवद्र्धन सँगै मेटिएको बाटो र पुर्खाको पाईलाहरुलाई जिवित बनाउ बाखोर – हलेसी – लिम्चुङ्बुङ ४ दिने पद यात्रा शनिवार बाट सुरु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ बाखोरदेखी हलेसी सम्मको ६० किलो मिटर पद यात्रा सुरु गरिएको हो । उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाको समन्वय तथा परिकल्पनामा यात्राको आयोजना गरिएको हो । उक्त पदमार्गमा बाउबाजे तथा पुर्खाहरुले नुन बोकेर अहिलेको पुस्ताहरुलाई खुवाएको भन्दै पुर्खाहरुको सम्मानको लागि ऐतिहासिक पदमार्ग नामाकरण गरी यात्रा सुरु गरिएको हो । यस पदमार्गको गोरेटो हुँदै जमनाका पुर्खाहरु नुन लगायत घरायसी सामान लिन मधेशको सहर लाहान जाने गरेका थिए ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईका अनुसार उक्त पदमार्गले उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गरी उदयपुरका तिन ओटा पालिकालाई छोएको छ । सोही अनुसार तिनै ओटा पालिकाहरुले पदमार्गका लागि समन्वय गरेको छ । उता खोटाङको भने हलेशी तुवाचुङ नगरपालिकालाई छोएको छ । मदन भण्डारी राजमार्ग देखी सुरु हुने पदमार्ग बाखोर, सितले, तल्लो चुरुम्फा, डुम्रे, साईपा गाउँ, ठाडो खोला गाउँ, एभरेष्ट भ्यु पाईन्ट, छाताङ खोला पुल, सिर्पुलुङ बालाम्ता, ताम्लीछा गैरिगाउँ, धैपुङ गाउँ, सुन नदी, गणेशटार गाउँ, मध्य पहाडी लोकमार्ग हुँदै हलेशी महादेव थानमा पुगेर पद यात्रा समापन हुने छ । यात्रामा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का लगायतको व्यक्तिहरु रहेका छन् । उनिहरुलाई जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले विदाई गरे ।