
पुर्णपुष्टि, जेष्ठ २४ । उदयपुर सिमेन्ट उद्योगका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएका छन । उद्योग आर्थिक भारमा डुबेपछि न्यौपानेले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका अनुसार उद्योग आर्थिक संकटमा फसेपछि महानिर्देशक न्यौपानेले ऋण तिर्न पहिलो चरण कम्तीमा २५–३० करोड माग गरेका थिए । तर उद्योग मन्त्रालयसँग पैसा नभएको र पैसा नपाउने भएपछि बस्न नसकिने भन्दै राजिनामा दिएको उनले बताए ।
उदयपुर सिमेन्ट नियमित उत्पादन हुन नसकेपछि २ बर्षमा उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्त:शुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस,कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी आर्थिक भार थपिएको छ । केही समय अगाडी बक्यौता नतिरेपछि गाईघाट विद्युत प्राधिकरणले विजुली समेत काटिदिएको थियो ।
२०७७ पुुस २० मा बसेको मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई दुई बर्षको लागी महानिर्देशकमा नियुक्त गरेको थियो । २०७९ पुस २० मा सकिन लागेको न्यौपानेको कार्यकाल २०७९ असोज ७ मा बसेको मन्त्रिपरिषदले २०७९ पुस २० बाट लागू हुनेगरी थप एक वर्ष थपिदिएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका २०७७ अनुसार महाप्रबन्धकको कार्यकाल २ वर्ष मात्रै हो । त्यस्तै व्यवस्थामा उल्लेख अनुसार महाप्रबन्धकको कार्यकाल सन्तोषजनक रहे बढीमा २ बर्ष थप गर्न सकिने छ । तर मन्त्रिपरिषदले विधि मिचेर महाप्रबन्धकको कार्यकाल एक वर्ष थपिदिएको थियो । न्यौपानेले कोइला अभाव, उद्योगको मेसिनहरु पुराना भएकाले समस्या भएको र उद्योगमा लगानी नबढाएसम्म उत्पादन बढाउन नसकिने बताउँदै आएका थिए ।
