
पूर्णपुष्टि, फागुन ५
उदयपुर सिमेन्ट उद्योगका पूर्व माहाप्रवन्धक (जिएम) नवलकिशोर साह र तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका नेता लक्ष्मी नारायण यादव लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
उनिहरुलाई पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश गर्नेहरुमा यादव र साह सहित काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव समेत रहेका छन् ।

लामो समयदेखि नेपाली काँग्रेसप्रति आस्था राख्दै आएका पूर्व जिएम साह ७ महिनाअघि मात्र उदयपुुर सिमेन्ट उद्योगबाट सेवा निबृत्त भएका थिए । पछिल्लो पहिचान र संघीयताको बाहक पार्टी भएको भन्दै उनी नेकपा माओबादीप्रति नजिकिदै गएका थिए । जागीरको क्रममा खुलेर राजनीति गर्न नमिल्ने भएकाले निबृत्त भएपछि पार्टी प्रवेश गरेको साहले बताए ।

आउँदो स्थानीयतहको चुनावमा खुलेर पार्टीलाई सहयोग गरेर माओबादी उम्मेदवारलाई जिताउने साहले बताए । तत्काललाई आफु कुनै लाभको पदमा जान नचाहेको भन्दै उनले आफ्नो नगरपालिकामा उठ्ने पार्टीका उम्मेदवारलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने बताए ।

