Friday, May 1News That Matters

एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीद्वारा राजीनामा

पूर्णपुष्टि, साउन ९ । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन्। गिरीले मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पठाएका थिए, जसलाई बुधबार सार्वजनिक गरिएको छ।

गिरीले राजीनामाको कारण खुलाउँदै भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ।’ उनले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय भएको बताए।

यस घटनाले एमालेभित्र असन्तुष्टि देखिएको छ। पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशनबाट मुख्यमन्त्री नियुक्ति गरिएको भन्ने आरोप लागेको छ। महासचिव शंकर पोखरेलले प्रदेश कमिटी अध्यक्षलाई फोन गरी उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।