
पूर्णपुष्टि/कटारी, असोज १० ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान उदयपुर शाखाले “शरीरको तौल सन्तुलन राखौं, मुटु रोगबाट बचौं” भन्ने नारासहित आज शारीरिक मान अनुपात कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व मुटु दिवसको उपलक्षमा आयोजित सो कार्यक्रममा कटारी नगरपालिका मेयर राजेशचन्द्र श्रेष्ठसहित १२० जनाको तौल, उचाई र प्रेसर चेकजाँच गरिएको थियो । कार्यक्रमका प्रमुख आतिथ्यमा मेयर श्रेष्ठले आप्mनो तौल, उचाई र प्रेसर चेक गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कटारी प्रादेशिक अस्पतालको समन्वय, कटारी चेम्बर अफ कमर्श र ज्योति विकास बैंक कटारी शाखाको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रममा कटारी अस्पतालका चिकित्सकहरुले असन्तुलन तौलले मुटु रोगको जोखिम हुने भएकोले त्यसप्रति सधै सचेत रहन सबैलाई सल्लाह, सुझाव दिएका थिए । अस्पतालका प्रमुख डाक्टर गौरव शाहले मुटु जोगाउन चिकित्सकीय सल्ला, सुझाव राख्नुभयो । कार्यक्रमको सभापितत्व आयोजक संस्थाका अध्यक्ष पवन श्रेष्ठले गर्नुभएको थियो । उहाँले कार्यक्रम सफल पार्नमा सहयोग गर्नुहुने सबैलाई धन्यावाद दिदै मुटु सबैभन्दा महत्वपूर्ण मानवीय अंग भएकाले त्यसप्रति सदैब सचेत र सतर्क रहन आग्रह गर्नुभयो ।