Wednesday, April 22News That Matters

कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी : माओवादी मन्त्रीहरू कायमै, कांग्रेस प्रवेशको चर्चा

पूर्णपुष्टि, साउन १० । कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको प्रभाव देखिन थालेको हो। हालका माओवादी मन्त्रीहरू अझै सरकारमा कायम रहेका छन् भने कांग्रेस सरकारमा प्रवेश गर्ने तयारीमा रहेको देखिन्छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा माओवादी मन्त्रीहरूले आफ्नो भविष्यबारे चासो राखेका थिए। तर मुख्यमन्त्री हिक्मत कार्कीले उनीहरूलाई हतार नगर्न र आ–आफ्नो काममा लाग्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीका अनुसार ‘हामीले राजीनामाको प्रेसर बढेको छ भनेको उहाँले प्रेसरको औषधि खानुहोस् भन्नुभयो।’

मुख्यमन्त्री कार्कीले कांग्रेसलाई चार मन्त्रालय दिने तयारी गरेका छन्। तर कांग्रेस भित्रै मन्त्री छनोटमा सहमति जुट्न नसक्दा सरकारमा प्रवेश गर्न ढिलाइ भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार, पार्टीभित्र धेरै नेताहरू मन्त्री बन्न इच्छुक छन् र महिला सांसदहरूले पनि दाबी गरेका छन्। यो विषयमा केन्द्रीय नेतृत्वले नै टुंगो लगाउने उनले बताए।

हाल कोशी प्रदेशमा ९ जना मन्त्री रहने व्यवस्था छ। माओवादीका तीन मन्त्री र एक राज्यमन्त्री छन् भने एमालेका चार मन्त्री र एक राज्यमन्त्री रहेका छन्। केन्द्रमा नयाँ सरकार बनेसँगै प्रदेशहरूमा पनि सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ। तर कोशी प्रदेशमा मुख्यमन्त्री एमालेकै भागमा परेकाले सरकार परिवर्तन नभई केवल मन्त्रिमण्डल पुनर्गठन हुने देखिएको छ।