Wednesday, May 20News That Matters

कोशी प्रदेश लगानी सम्मेलन आज, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

पूर्णपुष्टि, बैशाख १८ । कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने यस सम्मेलनमा कुल ७१ वटा परियोजनाहरू प्रस्तुत गरिनेछ, जसको कुल लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। सरोज कोइरालाका अनुसार, सम्मेलनमा प्रस्तुत गरिने ७१ मध्ये करिब २४ परियोजनाहरूमा सम्झौता हुने अपेक्षा गरिएको छ । यी परियोजनाहरू मुख्यतया पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी र सेवा लगायत आठ क्षेत्रमा केन्द्रित रहेका छन् ।

सम्मेलनमा नेपालका निजी क्षेत्रका लगानीकर्ताहरूका साथै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ताहरू र गैरआवासीय नेपालीहरूको पनि सहभागिता हुनेछ । लगानीमैत्री वातावरण सिर्जना गर्न सम्मेलनभन्दा केही दिन अघि मंगलबार प्रदेश सरकारले आठवटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । यी संशोधनहरूले प्रदेशमा लगानी आकर्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।