
पूर्णपुष्टि, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेत्री डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधबार सार्वजनिक भएको उक्त भिडिओमा डा. यादवले एक राउण्ड ‘हवाई फायर’ गरेको दृश्य स्पष्ट देखिन्छ ।
भिडिओमा डा. यादवका साथै अन्य केही व्यक्तिहरू पनि नाचिरहेको देखिन्छन् । पेस्तोलबाट फायर गरेपछि निस्केको धुवाँ पनि भिडिओमा स्पष्ट देख्न सकिन्छ । यसपछि अर्का एक युवकले पनि उक्त पेस्तोल समातेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाका अनुसार भिडिओ सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढाइएको छ । उनले भने, ‘अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिसकेको छैन ।’
एसपी खतिवडाले डा. यादवलाई प्रहरीले बोलाइसकेको र उनी पनि आउन सहमत भएको जानकारी दिए । ‘उहाँलाई बोलाइसकेका छौं, उहाँ पनि आउँछु भन्नुभएको छ। त्यसपछि यसको वास्तविकता थाहा हुनेछ,’ उनले भने ।
डा. बबी सिंह यादव सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की स्थायी बासिन्दा हुन् । उनी जसपा नेपालका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
