
पूर्णपुष्टि, बैशाख १८ । काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागमा अहिले परिरहेको वर्षा आगामी दुई दिनसम्म जारी रहने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। यो वर्षा बंगालको खाडीबाट विकसित भएको मौसमी प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण भइरहेको बताइएको छ।
मौसम विज्ञ तथा विपद् विशेषज्ञ डा= धर्मराज उप्रेतीका अनुसार ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ । देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ । ‘उनले केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी समेत दिएका छन् ।
हाल काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ । गत एक घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा २४.२ मिलिमिटर मापन गरिएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर, सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनले पनि शुक्रबारसम्मै देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यस मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गरी क्रमशः अन्य भागमा असर पार्दै गइरहेको छ । यस्तो मौसमी अवस्थामा सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन्, विशेषगरी पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम रहने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
