
पूर्णपुष्टि, जेठ २९ गते । कोशी प्रदेश स्तरिय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सोमबार मोरङको बिराटनगर स्थित बिग होटलमा प्रदेश स्तरिय सुरक्षा गोष्ठी सम्पन्न भएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता तथा गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा जेष्ठ २७ गतेबाट संचालन भएको गोष्ठीको उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागी भावी रणनिती बनाएर काम गर्नु पर्ने साथै शान्ति सुरक्षा तथा बिकास निर्माण कार्यको लागि तीनवटै सरकार आपसमा समन्वय र सहकार्य गरी अगाडि बढनु पर्ने बताएका छन् । बैदेशिक रोजगारीको प्रलोभन दिएर गरीने ठगी नियन्त्रण गर्न, भन्सार चोरी निकासी, कालोवजारी, गुण्डा गर्दी, भ्रष्टाचार नियन्त्रणका लागि दत्त चित्त भई लागि पर्न प्रहरी संगठनलाई गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न जिम्मवार निकायहरूले आ–आफ्नो स्थानबाट सक्रिय रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।
गृह सचिव एकनारायण अर्यालले मानब बेचबिखन, लागूऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करी जस्ता अवैधानिक गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नु पर्ने बताएका छन् । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न र सुरक्षा चुनौतिको निराकरण र समाधानका लागि जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूले निर्धक्कताका साथ आफ्नो अधिकारको प्रयोग गर्न निर्देशन दिए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्ष्म, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताएका छन् । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्ष्म प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको महानिरिक्षक कुँवरले बताए । उक्त गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशका प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
