
पूर्णपुष्टि, असोज १० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का इन्चार्ज हिमाल शर्माले संगठनको नयाँ नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा छनोट गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा शुभकामना दिँदै शर्माले यो कुरा बताएका हुन् ।
शर्माले भने, “हामीले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा प्रतिनिधि छनोट गरेर आएका छौँ । संगठनको केन्द्रीय पदाधिकारी र सदस्यहरू पनि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नै छनोट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।”
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उद्धृत गर्दै थप भने, “अध्यक्ष प्रचण्डलाई साक्षी राखेर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । यसपटक नेतृत्वबाट हस्तक्षेप हुनेछैन । जसले जितेपनि क्रान्तिकारीले जित्ने हो भनेर अध्यक्षले भन्नुभएको छ ।” शर्माले निर्वाचनमा पराजित हुनेहरूलाई पनि पार्टीले उचित जिम्मेवारी दिने आश्वासन दिए ।
