Friday, May 15News That Matters

खोटाङका तीन अनाथ बालबालिकाको उद्धार गरी बाल सेवा आश्रममा पठाइयो

पूर्णपुष्टि, साउन १६ । खोटाङ जिल्लालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ बनाउने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले तीन अनाथ बालबालिकाको उद्धार गरी बाल सेवा आश्रम बिराटनगरमा पठाएको छ।

उद्धार गरिएका बालबालिकाहरूमा रावा वेसी गाउँपालिका वडा नं. २, खार्पा डाँडागाउँ निवासी १० वर्षीया मन कुमारी नेपाली, ९ वर्षीया भुमिका नेपाली र ७ वर्षीय माधव नेपाली रहेका छन्। यी बालबालिकाहरूको लालनपालन गर्ने अभिभावक कोही नभएको र आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको जानकारी प्राप्त भएपछि प्रहरीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङले साउन १५ गते बालबालिकाहरूलाई उनीहरूकै घरबाट उद्धार गरी कार्यालयमा ल्याएको थियो। प्रहरी कर्मचारीहरूको आर्थिक सहयोगमा बालबालिकाहरूका लागि लत्ताकपडा, जुत्ता, ज्याकेट, टिसर्ट र ट्राउजर खरिद गरिएको छ। साउन १६ गते बिहान ४स्३० बजे बा ३ ख २९५८ नम्बरको गाडीमार्फत प्रहरी कर्मचारीको साथमा बालबालिकाहरूलाई बाल सेवा आश्रम, बिराटनगर पठाइएको छ।

उद्धार गरिएका बालबालिकाका बुवा टेक बहादुर नेपाली साउन ६ गतेदेखि जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परी जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेका छन्। बालबालिकाकी आमा २२ वर्षीया निर्मला नेपालीको गत फागुन २२ गते मृत्यु भएको थियो।