
पूर्णपुष्टि साउन १६ । करिब ५० वर्षअघि स्थापित काभ्रेपलाञ्चोकको खोपासीस्थित रेशम विकास केन्द्र हाल जेनतेन सञ्चालनमा रहेको छ। पनौती नगरपालिका–१२ मा रहेको यस केन्द्रका प्रशासनिक भवनहरू जीर्ण बन्दै गएका छन् र रेशम कीराको उत्पादन घट्दो क्रममा रहेको छ।
विसं २०३२ सालमा स्थापना भएको यो केन्द्र हाल १२६ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुरुमा रेशमखेती परियोजना महाशाखाको रूपमा रहेको यो संस्था अहिले रेशमखेती विकास केन्द्रमा रूपान्तरण भएको छ। केन्द्रमा १७ कर्मचारीको दरबन्दी भए पनि हाल १० जना मात्र कार्यरत छन्। पछिल्ला केही वर्षदेखि सरकारी बजेट कटौती र जनशक्ति अभावका कारण उत्पादन घट्दै गएको केन्द्र प्रमुख कृष्ण धितालले बताए।
केन्द्रले हाल ३५ जातका रेशम कीराका माउको संरक्षण गरिरहेको छ, जुन जापान, चीन र कोरियाबाट ल्याइएका हुन्। यी माउहरूबाट नयाँ जात उत्पादन गर्ने काम भइरहेको छ र किसानहरूलाई विशेष गरी बायोभोल्टाइन जातका हाइब्रिड कीरा वितरण गरिँदै आएको छ। केन्द्रले वार्षिक रूपमा ४०० बाकस (प्रति बाकस २०,००० अण्डा) रेशम कीराका अण्डा किसानहरूलाई वितरण गर्दै आएको छ। तर केही वर्ष अघिसम्म यो संख्या ३,८०० बाकससम्म पुग्थ्यो।
किम्बू खेती गर्ने किसानहरूको संख्या घट्दै गएको र उत्पादित कोयाको तत्काल प्रशोधन गर्न नसक्दा किसानहरूको आकर्षण घटेको केन्द्रले जनाएको छ। भूकम्पले क्षतिग्रस्त केही भवनहरू मर्मत गरिएका छन्, तर धागो प्रशोधन गर्ने मेसिन बिग्रिएर थन्किएको अवस्थामा छ। केन्द्रलाई पुनर्जीवित गर्न सके उत्पादन र रोजगारी बढाउन सकिने र वार्षिक रूपमा रेशम धागो आयातमा खर्च हुने करोडौं रुपैयाँ बचत गर्न सकिने विश्वास गरिएको छ। हाल नेपालले वार्षिक ८० करोड रुपैयाँ बराबरको रेशम धागो आयात गर्दै आएको तथ्यांक छ।
