
पूर्णपुष्टि खबर ब्युरो / उदयपुर, जेठ २ ।
उदयपुरमा गठबन्धनलाई लत्याएर एकलरुपमा चुनाव भिडेको नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई सकस परेको छ । गठबन्धन गरिएका पालिकाहरुमा भने अग्रता देखिएको छ ।
पाँच दलीय गठबन्धनलाई लत्याउदै एकलरुपमा चुनावी मैदानमा उत्रिएको चौदण्डीगढी नगरपालिकाको काङ्ग्रेस उम्मेदवारहरु प्रमुख पदका खगेन्द्र राई र उपप्रमुखका उम्मेदवार रिताकुमारी चोैधरीलाई यो चुनाव सकसपूर्ण देखिएको छ । निबर्तमान मेयर तथा उपमेयरसमेत रहेका उनीहरु दुबैलाई नेकपा एमालेले मत गणनाको सुरुवातदेखिनै पछि पारेको छ । मतान्तर थप फराकिलो हुदै जाँदा एमालेको अग्रताले जीतको सङ्केत गरेको छ ।
सो पालिकाको नेकपा एमालेको अध्यक्ष उम्मेदवार लामाको ४४११ मत हुँदा कांग्रेसको अध्यक्ष उम्मेदवार राईको ३३७० मत आएको छ । उपाध्यक्षमा एमालेकी दुलालको ४३४७ रहदा काङ्ग्रेसकी चौधरीको ३३३८ मत रहेको छ ।
काङ्ग्रेसबाहेक गठबन्धनमा रहेका प्रमुख पदका उम्मेदवार नेकपा (एस) का नरेन्द्र राउत र उपप्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की हिरा थापाले तेस्रो मतका साथ पछ्याईरहेका छन् । प्रमुख उम्मेदवार राउतको २०७५ रहेको छ भने उपप्रमुख उम्मेदवार १९८५ मत रहेको छ । त्यहाँ गठबन्धन र काङ्ग्रेसलाई आएको मत जोड्दा सजिलै जित देखिएको तर, गठबन्धनप्रति काङ्ग्रेस गम्भिर नभइदिदा अनपेक्षित परिणाम भोग्नुपर्ने स्थिति चौदण्डीगढीमा देखा परेको छ ।
जिल्लाको आठ पालिका मध्ये दुई पालिकामा गणना सुरु नै भएको छैन । बाँकी छ वटा मध्ये एक पालिकाको सकिएको छ भने गणना जारी पाँच पालिका सबैमा काङ्ग्रेससहितको गठबन्धन छ । ती सबै पालिकामा गठबन्धनको अग्रता देखिएको छ ।
काङ्ग्रेससहित गठबन्धन गरी चुनावमा होमिएको बेलका नगरपालिकामा गठबन्धनको फराकिलो अग्रता छ । बेलकामा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसको अशोक कार्कीको मत ६३०१ रहेको छ । १८५६ मत अन्तरमा पछाडि परेको निवर्तमान मेयरसमेत रहेका दुर्गाकुमार थापाको ४४४५ मत रहेको छ । उपप्रमुखमा भने गठबन्धन र एमालेको उम्मेदवारको थोरै मतले अघिपछि चलिरहेको छ । हाल गठबन्धनतर्फको उपप्रमुख उम्मेदवार नेकपा (माके) का मनोज तामाङको ३८८० मत हुँदा एमालेकी जिरा राईको ३९१९ रहेको छ । हाल उनीहरुबीच ३९ मत अन्तर रहेको छ ।
काङ्ग्रेससहित गठबन्धन रहेको लिम्चुङबुङ गाउँपालिकामा सानदार जित हाँसिल भइसकेको छ । त्यहाँ गठबन्धनतर्फको अध्यक्ष नेकपा (माके) का मेजरकुमार राई, उपाध्यक्षमा काङ्ग्रेसका पुष्पलाल राई विजयी बनिसकेका छन् । पाँच वडा मध्ये एक स्वतन्त्र बाहेक सबै वडाध्यक्षहरु प्यानलसहित गठबन्धनको जीत भएको छ ।
यस बाहेक काङ्ग्रेससहित गठबन्धन रहेको रौतामाई, उदयपुरगढीमा गठबन्धनकै अग्रता छ । सुरुमा एमालेको अग्रता रहेको ताप्लीमा गठबन्धनले क्रमिकरुपले मतअन्तर छोट्याउदै तीन मतअन्तरमा ल्याइसकेको छ । त्यहाँ गठबन्धनकै जीतको आकलन गर्न थालिएको नेकपा (माके) का प्रदेश सदस्य निरज पौडेलले बताउनुभयो ।
वडा नं. १२ मा मतदान नै स्थगित रहेको त्रियुगा नगरपालिकामा पनि काङ्ग्रेस एकलरुपमा चुनाव भिडेको छ । मतदानका दिन वडा नं. १० मा प्रहरीको गोलीले स्थानीय युवाको मृत्युका कारण कटारी नगरपालिकामा मतगणना स्थगित रहेको छ । त्यहाँ भने काङ्ग्रेससहितको गठबन्धन रहेको छ । त्यहाँ सर्बदलीय बैंठक गरी मतगणनाका लागि सहमति जुटाउने प्रयास भइरहेको बुझिएको छ ।
