
पूर्णपुष्टि, साउन १५ । कोशी प्रदेश सरकारमा सहभागिताको लागि तयार रहेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन। एमाले–कांग्रेसबीच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको भए पनि कांग्रेसले अझै मन्त्री पठाउन सकेको छैन। कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने र समावेशी सिद्धान्त अपनाउने निर्णय गरेको छ।
कांग्रेसका २९ सांसदमध्ये २७ जनाले मन्त्री बन्न दाबी गरेका छन्, जसमध्ये ४ देखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री बन्न सक्ने सम्भावना रहेको छ। पार्टीभित्र शेरबहादुर देउवा, शेखर कोइराला र कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री बनाउने गरी छलफल भइरहेको छ। लैंगिक र समावेशीतालाई ध्यान दिने निर्णय गरिए पनि हाल चर्चामा रहेका नाममा महिलाको प्रतिनिधित्व कम देखिन्छ।
केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेकांग्रेस गठबन्धन बनाउने सहमति भएको छ। यद्यपि, कांग्रेसको आन्तरिक विवादका कारण मन्त्रीमण्डल विस्तार प्रक्रिया अलमलमा परेको छ। प्रदेश नेतृत्वले केन्द्रीय नेतृत्वसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ। यस प्रक्रियामा अझै केही दिन लाग्न सक्ने देखिएको छ।
