Wednesday, April 22News That Matters

दक्षिण एसियामा बाढी–पहिरोबाट ६० लाख बालबालिका प्रभावित : युनिसेफ

पूर्णपुष्टि, साउन १५ । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले नेपालसहित दक्षिण एसियाली मुलुकहरुमा भारी वर्षासँगै आएको बाढी–पहिरोले बालबालिका र किशोरकिशोरीहरु गम्भीर रूपमा प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट करिब ६० लाख बालबालिका प्रभावित भएको अनुमान गरिएको छ।

मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले ठूलो विपत्ति निम्त्याएको छ। युनिसेफले जारी गरेको विज्ञप्तिमा बाढी र डुबानका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना भएको उल्लेख छ। स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएकोले दूषित पानीका कारण झाडापखाला लगायत विभिन्न रोगहरू फैलिने खतरा बढेको छ। युनिसेफले जलवायु परिवर्तनका कारण यस्ता गम्भीर मौसमी घटनाहरु बढ्दै गएको र यसले बालबालिकाको जीवनमा नकारात्मक असर पारेको जनाएको छ।