Tuesday, June 2News That Matters

चौदण्डीमा कृषकको समस्यालाई समाधान गर्न ५७ लाख बराबरको सिंचाई शिलान्यास

पूर्णपुष्टि, माघ ७
उदयपुरको चौदण्डीगढीमा कृषकहरुको समस्यालाई समाधान गर्नका निम्ती ५७ लाख बराबरको सिंचाई कूलोको शिलान्यास भएको छ । बिहिवार चौदण्डीगढी नगरपालिका–४ बसाहा स्थित तीनदोभानने मुनी पहरेखोला जलस्रोत कुलो सिंचाईको शिलान्यास नगर प्रमुख खगेन्द्र राईले गरेको हो ।
बजेट भने नगरपालिका, १ नं. प्रदेश सरकार र संघीय सरकारको २०÷२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रम अन्तर्गत स्वीज सरकारको रहेको छ ।
सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो ।
बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कुलोको रुपमा चिनिएको उक्त सिंचाई कुलोको लम्वाई १९ सय मिटरमध्ये १३ सय मटरमात्र पक्की ढलाई हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ ।
४० सेन्टिमितर उचाई रहने कुलोको चौडाई ५० सेन्टिमिटर रहने इञ्जिनीयर सन्तोष शाहले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताउनुभयो । कृषि पेशालाई सम्मान गर्न हिच्किचाएको हाम्रो नेपाली समाज भविष्यको लागि चिन्ताजनक रहेको उहाँको धारणा थियो ।
कृषि पेशालाई उपेक्षितगरी सुखसयलको जीवनयापन खोज्नु मूर्ख मानसिक्ता भएको बताउनुभयो ।
तीनदोभाने पहरेखोलाको मुहान थापिएको खोला बाह्रैमास पानी बगिरहने खोला हो, भने उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुने बताइएको छ ।