
पूर्णपुष्टि,असार ३ । उदयपुरको त्रियुगा नगरपालिकामा जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गरिएको छ । “जातिय छुवाछूत अन्त्यका लागी हामी सबैको आवाज,जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव मुक्त समाज” भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाका विभिन्न वडाहरुमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयद्धारा कार्यक्रमको आयोजना गरीएको थियो ।
आइतवार वडा नं.९ स्थित वडाको आधारभूत स्वास्थ्य चौकीको प्राङ्गणमा गैसस महासंघ उदयपुर, दलित अधिकार सञ्जाल उदयपुर र ओरेक नेपालको सहकार्यमा वडा नं.३, मोतिगडा र वडा ६ पाल्तेबास (महनपुर)मा वडाका विभिन्न सरोकारवाला निकायहरुसंग छलफल अभियान गरिएको अरेक उदयपुरका संयोजक बालिका कार्की बताईन् । गत जेष्ठ २१ गते जातीय छुवाछुत तथा राष्ट्रिय उन्मुलन दिवसको अवसर पारी बिभिन्न ४ वटा वडाहरुमा कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको जनाइन् ।
कार्यक्रममा जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाय ,उजुरी प्रक्रिया,हदम्याद जस्ता कानुनी प्राबधान संगै सचेतता अभियान पनि संचालन गरिएको आयोजकले जनाएको छ । उक्त अभियानबाट कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा ,धर्म ,सस्कृती ,रीतिरिवाज ,उत्पत्ति ,जात ,जाती,वन्श ,समुदाय ,पेशा वा व्यबसाय वा शारीरिक अबस्थाका आधारमा भेदभाव कसैले कसैबाट नगरियोस् भन्ने प्रस्टाइएको छ ।
नेपालको सम्विधानमा जातिय छुवाछूत विरुद्धको व्यबस्थाको कार्यान्वयन गर्नुपर्ने सन्देश सहित कार्यक्रममा दलित तथा गैरदलित सम्पुर्णमा सचेत समेत गराइएको थियो । यस्तै दलित समुदायहरुले समाजमा भोगिरहेको पिँडामा आधारित अनुभव सुनाइएको थियो । समाजमा जातिय विभेद अझै पनि भुसको आगो जस्तै भित्र भित्रै सल्किरहेको यस्ता सबाल सम्बोधन गर्न पालिका र सम्पुर्ण वडाहरुले आगामी दिनमा यस अभियानलाई अझ वृहत् रूपमा सचेतता गर्ने प्रतिबद्धता समेत जनाएको थियो ।
