
पूर्णपुष्टि/उदयपुर, भदौ २८ गते
जेनजी आन्दोलनपछि अस्तब्यस्त बनेको उदयपुरको जनजीवन सामान्य बन्दै गएको छ । यो उदयपुरको सदरमुकामा गाईघाट हो । आज यहाँको अवस्था सामान्य छ । मानिसको चहलपहल छ । सवारीसाधनहरु चलेका छन्, बजार, पसल पुरै खुलेका छन । सुरक्षाको कारण बन्द रहेका बैंक, सार्बजनिक यातायात पनि सञ्चालन हुन थालेका छन् ।
आन्दोलन यता हरेक दिन लाग्दै आएको निषेधाज्ञ स्थानीय प्रशासनले आजदेखि हटाएको छ । रातीराती जारी हुने कप्mयु पनि सम्भवत भरैदेखि हट्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो ।
यो त्रियुगा नगरपालिका १० बोक्से क्षेत्रमा अधिकांश सरकारी कार्यालयहरु रहेका छन् । भदौ २४ गते आन्दोलनको क्रममा यहाँ स्थित जिल्ला प्रशासन, अदालत र सबैजसो सरकारी कार्यालयमा तोडफोड भएका थिए । ढुंगा हानेर भ्mयालढोकामा क्षती पुर्याएका सरकारी कार्यालयहरु सरसफाई गरी भाेलीदेखि सेवा प्रभाव थालिने भएकाे छ ।
केही पार्टी कार्यालय, नगरपालिका र केही ब्यक्तिगत घरमा आगजनी भएको थियो । आगजनी भएका एमाले, काङ्ग्रेस र माओवादीको पार्टी कार्यालय मध्ये माओवादीले सरसफाई गरी सञ्चालनमा ल्याएको छ । आगजनी र तोडफोडमा परेको त्रियुगा नगरपालिकाले सेवा सञ्चालन गर्न सकेको छैन ।
ब्यक्तिका घरहरु पूर्वमेयर बलदेव चौधरी, मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, वडाध्यक्ष सुमन्त कोइराला र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको घरमा आगजनी तथा लुटपाट भएको थियो । तुलसी सहकारी संस्थाको डिपार्टमेन्ट स्टोरमा पनि तोडफोड र लुटपाट भएको थियो । विपीचौकमा विपीको सालिक तोडफोड भएको थियो भने दुईवटा सर्बसाधारणका मोटरसाईकलमा आगजनी भएका थिए ।
जेनजीको जायज मागलाई सबैले समर्थन जनाएका थिए तर, आन्दोलनमा घुसपैठ गरेका अराजक समुह र गलत मनोसायका मानिसहरुले लुटपाट, आगजनी र तोडफोड गरेको सर्बसाधारणको भनाई छ । त्यस्तालाई राज्यले छानविन र खोजतलास गरी कारवाही गर्नुपर्ने उनीहरुको भनाई छ ।
आन्दोलनको क्रममा उदयपुरमा २ प्रहरी सामान्य घाइते भएका थिए भने प्रदर्शनकारीतर्फको घाइतेको विवरण छैन । काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु हुनेहरु मध्ये दुईजना उदयपुरको बेलका नगरपालिका ४ का सन्तोष लुहार र चौदण्डीगढी नगरपालिका ३ का सारकुमार राई रहेको जानकारी प्राप्त भएको छ ।
२४ गते दिउसोसम्म शान्तिपूर्ण आन्दोलन भएको उदयपुरमा प्रशासन अगाडि प्रदर्शनपछि फर्कने क्रममा प्रदर्शनकारी एकआपसमा विवाद निकालि ढुंगामुढा सुरु भएको थियो । त्यसपछि सरकारी कार्यालयमा तोडफोड गर्दै बजारतर्फ फर्किएको प्रदर्शनकारीले नगरपालिका फेरी पुगेर तोडफोड र आगजनी गरेका थिए । त्यसपछि पार्टी कार्यालय र जनप्रतिनिधिको घरमा खोजीखोजी आगजनी गरेका थिए ।
जेनजी आन्दोलनको परिणामस्वरुप नयाँ अन्तरिक सरकार निर्माण भइसकेको छ । सरकारले तोकिएको मितिमा निर्वाचनसंगै शान्ति, अमनचयन र विकासको वातावरण सिर्जना गर्नुपर्ने जनताको चाहना छ ।
