
पूर्णपुष्टि, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा पहिचानवादीहरुले कोशी प्रदेशको नाम खारेजको माग सहित कालो झण्डा देखाएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेस्थित रामजानकी मन्दिरनजिकै आज नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाईएको हो ।
पार्टी कार्यक्रममा सहभागी भएका ओलीलाई उनिहरुले कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश चाहिँदैन लगायतका नारा लगाउँदै कालो झण्डा देखाएका थिए । प्रहरीले पहिचानवादीहरूलाई सय मिटर वर नै रोकेको थियो भने केहिबेर सडकमा तनाव सिर्जना भएको थियो ।
कालो झण्डा देखाएको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । उनका अनुसार एक्कासी प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा दुई जना प्रहरी घाईते भएका छन् । प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदीपनारायण राजवंशी घाइते घाईते भएका छन् ।
गत फागुन १७ मा प्रदेश सभाबाट दुई तिहाई मतले कोशी प्रदेश नामकरण भएपछि कोशी प्रदेशमा आन्दोलन चलिरहेको छ । कोशी प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै पहिचानवादीहरुले आन्दोलन गर्दै आईरहेका छन् ।
