
पूर्णपुष्टि, माघ २५ गते । टर्कीमा गएको विनाशकारी भुकम्पले त्याहाको भौगोलिक अवस्थिति नै परिवर्तन गरिदिएको छ । भुकम्पको कारण टर्की अवस्थित रहेको टेक्टोनिक प्लेट १० फिट पर सरेको भूगर्भविदले जनाएको छ । त्यसैले टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।
टर्कीमा सोमबार ७.८ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको झट्काले गर्दा टर्किमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । टर्किमा गएको पहिलो ७.८ म्याग्निच्युडको भुकम्पको उद्गम जमिनभन्दा १८ मिटर गहिराइमा थियो । त्यस्तै ९ घण्टापछि गएको ७.५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो ।
वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्रस्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ ।
इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५.६ मिटरसम्म सरेको हुनसक्छ । यद्यपि यो प्रारम्भिक डेटा भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरुबाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।
भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक रहेको डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थ बताए । उनका अनुसार ६.५ देखि ६.९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ ।
टर्कीमा भएको टेक्नोनिक प्लेटको स्थानान्तरण तेर्सो स्थानान्तरण रहेको र यसमा ३ देखि ६ मिटरसम्म सर्नु सामान्य रहेको उनको भनाइ छ । यस्तो प्रकारको तेर्सो स्थानान्तरणले सतहमा रहेका तथा भूमिगत भौतिक संरचनाहरुमा व्यापक क्षति हुने पनि उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार सो भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या २० हजार पुग्न सक्दछ भने साढे २ करोड मानिस प्रभावित भएका छन् ।
