Wednesday, May 20News That Matters

ड्युटिमा खटिएको प्रहरीको हात भाचिदिएको अभियोगमा युवक पक्राउ

पूर्णपुष्टि, माघ १६ गते । ड्युटिमा खटिएको प्रहरीको हात भाचिदिएको अभियोगमा पोखराबाट एक युवक पक्राउ परेका छन् । पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी २५ वर्षीय सौरभ थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको बुबा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापा हुन् । शौरभले बुबाको लगानीमा रहेको आटो माबाईल व्यवसाय चलाईरहेका छन् । बिहिबार राती ३ बजे पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि थापाले चलाएको गाडीले ठक्करदिँदा प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाचिएको प्रहरी स्रोतले बताएको छ ।

रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको प्रहरीले जनाएको छ । ‘उनले प्रहरीलाई गाडीको ढोकाले हुत्याए, उनले मादक पदार्थ सेवन गरेका थिए’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘गाडीको ढोकाले लागेर प्रहरी हवल्दार वलीको हातै भाँचिएको छ ।’

थापालाई बिहिबार प्रक्राउ गरी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ । सरकारी वकिलको कार्यालयमा आजै फाइल पेश गरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए ।