
पूर्णपुष्टि, १७ असार ।
त्रियुगा नगरपालिका वडा नं १६ ले १० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेको छ । वडा भित्रै रहेका स्वास्थ्य संस्थामै प्रसुति गराउने सुत्केरी आमाहरुलाई पोषणजन्य सामाग्री तथा ५ हजारको दरले आर्थिक सहयोग गरिएको हो । आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य चौकी चिलाउनेले उक्त कार्यक्रम आयोजना गरेको हो । वडाले आफ्नै क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुतिको अभियानलाई सार्थकता बनाउन खोजेको छ ।

यस कार्यक्रमले सुत्केरी आमाहरुलाई सुरक्षित प्रसुति र टाढाको हस्पिटलमा झन्झट र खर्चको अवस्थालाई समेत न्युनिकरण गरेको छ । वडा अध्यक्ष मान वहादुर राईले यस कार्यक्रम पश्चात वडावासी आमाहरुले वडाकै स्वास्थ्य संस्थामा प्रसुतिमा गर्ने बानी बसाल्नुका साथै वडा भित्र रहेको स्वास्थ्य संस्थामा प्रसुतिका लागि विश्वास योग्य अवस्था निर्माण गरेको बताउनुभयो । कार्यक्रमको मुख्य उदेश्य नै “स्वास्थ्य संस्थामा प्रसुति गराऔँ, आमा र बच्चाको सुरक्षा सुनिश्चित गराऔँ” भन्ने रहेको छ । सोमवार अध्यक्ष राई लगायत जनप्रतिनिधि सहित वडा सचिव लगायत कर्मचारीहरुले सामाग्री तथा आर्थिक प्रदान गरेको हो । स्वास्थ्य चौकी चिलाउनेको आयोजना तथा १६ नं वडा कार्यालयको सहयोगमा कार्यक्रम गरिएको थियो ।


