
पूर्णपुष्टि, ३ असार ।
त्रियुगा नगरपालिका वडा नं १६ मा ३० लाख बढी लगानीमा आरसीसी सिंचाई कुलो निर्माण पछि कृषकहरु उत्साहित बनेको छ । मंगलबार नव निर्मित सिँचाईको औपचारिक उद्घाटन सँगै कृषकको खेतमा पानी पुगेको छ । वडाको भोर्ले स्थित सिंचाईको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, उपमेयर महेश्वरी राई र वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिले उद्घाटन गरे । स्विस सरकारको ३० प्रतिशत, संघिय, प्रदेश र स्थानीय सरकारको २०/२० प्रतिशत गरि ६० प्रतिशत र १० प्रतिशत स्थानीय जनसहभागीता १० सहित ३० लाख ७६ हजार आरसीसी सिंचाई निर्माण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाउनुभयो ।
राईका अनुसार उक्त आरसीसी सिंचाई भोर्ले खोला देखि ७ सय ८ मिटर रहेको छ । यस सिंचाई कुलोले भोर्लेका १८ घर परिवारको १ सय १२ रोपनी जग्गाको आवश्यकतालाई पुर्ति गर्नेछ ।
आरसीसी सिंचाई योजना आफैमा मजबुद र दिर्घकालिन रहेको छ । यो साधारण सिंचाई भन्दा दिर्घकालिन योजना पनि रहेको जनाईएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सिचाई योजना अपरिहार्य भएकाले स्विस सरकार सहित संघ र प्रदेशमा आग्रह गरेर आरसीसी कुलो निर्माण गरिएको बताउनु भयो । सिचाईलाई व्यवस्थित बनाउदै नगरपालिकालाई कृषिमा आत्मा निर्भर बनाउन यस सिंचाई योजनाले सहयोग पुराउने बताउनुभयो ।
नगर उप प्रमुख महेश्वरी राईले आरसीसी सिंचाईकुलो टिकाउ र दीर्घकालीन भएको हुँदा यसले समग्र भोर्ले बासीको आर्थिकस्तर बृद्धि गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
नगरपालिकाले वडा नं १६ लाई कृषिमा लगानी गरिरहेको र यसमा थप नगरपालिकाका पहाडी वडा १४ , १५ र १६ लाई कफी जोनको रुपमा बिकास गर्ने भएका कारण यसको सम्पूर्ण १६ नं वडाका कृषकले उपयोग गर्नु पर्ने अध्यक्ष राईको भनाई छ ।
