
पूर्णपुष्टि, माघ २७ गते । विदेशी वायुसेवा कम्पनी थाई स्माइल एयरलाइन्सको प्रतिनिधिसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले सो एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि ठाकुरलाई निलम्बन गरिएको बताए । उनका अनुसार घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।
निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ । ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।
