
पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगाको मतगणना भोली रातीसम्ममा सक्ने गरी गणना कार्य अगाडी बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १६ वटा वडाको मतगणना सक्नुपर्ने हुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १, २, ३, ४, ५, १३, १४, १५ र १६ गरी नौंवटा वडाहरुमा गणना सकिएको छ । अहिले ६, ७, ८ र ९ वडाको गणना चलिरहेको छ भने १०, ११ र १२ वडाको गणना बाँकी छ ।
नगरमा कुल ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेको थियो । खसेको मतमध्ये हाल २८ हजार ५७५ मत गणना भइसकेको छ । गन्दै गरेको चारवडा र पुरा गन्न बाँकी तीन वडामा ११ हजार ६०४ मत रहेको छ । ती मत गणना भोली रातीसम्ममा सक्ने टार्गेट मुख्य निर्वाचन अधिकृतको कार्यायको रहेको जनाएको छ । “भोली रातीसम्ममा सबै गणना सक्ने टार्गेट लिएका छौं” मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले भन्नुभयो । उहाँका अनुसार मत गणनाका लागि चारटोली खटिरहेका छन् । चारटोलीले एकचरणमा चारवटा वडाको मतगणना गर्ने गरेको छ । जेठ १० गतेदेखि सुरु गरिएको गणना एउटा टोलीले थालेकोमा चाडो सक्ने उद्देश्यले चारटोली बनाइएको छ ।
वडा नं. १२ मतदानमा विवादित वडा हो । सो वडालाई अन्तिममा गन्नेगरी पछाडि राखिएको बुझिएको छ । सो वडा मतदानका दिन विवादित भएपछि त्रियुगाको मतगणना ढिलाई भएको थियो । विवादित १२ नं. वडामा पुनः मतदान वा खसेको मत गणना भन्ने अन्यौलताकाबीच ११ दिनपछि निर्वाचन आयोगको निर्णयले गणना सुरु गरिएको थियो । विवादका कारण त्रियुगा जिल्लामा सबैभन्दा ढिलो गणना सुरु भएको हो । जिल्लाको अन्य सात पालिका गणना सम्पन्न भइसकेको छ । कटारी नगरपालिका दोस्रो ढिलो गणना भएको पालिका हो । सो पालिका जेठ १० गते गणना सम्पन्न भइसकेको छ । जिल्लामा सबैभन्दा छिटो गणना सकिएको पालिका लिम्चुङबुङ गाउँपालिका हो । १ नं. प्रदेशमै पहिलो बनेको थियो सो पालिका ।
