Wednesday, April 22News That Matters

त्रियुगाको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी बिरामीको स्वास्थ्य परिक्षण

पूर्णपुष्टि, २२ असार ।
त्रियुगा नगरपालिकाले शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य सिविरमा ६ सय बढी नगरवासी विरामीहरुले स्वास्थ्य परिक्षण गराएको छ । सोम लाइफ डायग्नोस्टिक क्लिनिक गाईघाट र गोल्डेन हस्पिटल विराटनगरको समन्वय सहयोगमा सिविर संञ्चालन गरिएको हो । त्रियुगा नमुना मावि गाईघाटमा संञ्चालन एक दिवसीय शिविरमा सिनियर जनरल फिजिसियन डाक्टर श्याम रौनियार लगायतको टोलीले महिला रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, हाड जोर्नी सेवा, न्युरो सर्जन विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो ।

उक्त शिविरमा निशुल्क ल्याब सेवा समेत उपलब्ध गराइएको थियो । स्वास्थ्य शिविरबाट नगर क्षेत्र भित्रका स्थानीयबासी लगायत पहाडी वडाहरूबाट समेत बिरामीहरूले स्वास्थ्य उपचार तथा परामर्श सेवा प्राप्त गरी लाभ लिएका छन् । सिविरमा सेवा दिन आएका गोल्डेन हस्पिटल विराटनगरका संञ्चालक तथा स्वास्थ्यकर्मीहरुलाई नगर प्रमुख वसन्त वस्नेत, उपमेयर महेश्वरी राई तथा १६ नं वडाका वडाअध्यक्ष मान वहादुर राई लगायत कर्मचारीहरुले खादा लगाएर स्वागत गरेका थिए । नगर प्रमुख बस्नेतले सिविरले नगरवासीहरु लाभान्भीत भएको भन्दै आगामी समयमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । सरकारका निति अनुसार जनताहरुलाई स्वास्थ्यमा पहुँच पुराउन त्रियुगा नगरपालिका अग्रसर रहेको जनाए । नगर उपप्रमुख महेश्वरी राईले महिला बिशेषज्ञ समेतको सेवाले महिलाहरुलाई बिषेश सुविधा पुगेको बताउनुभयो ।