
पूर्णपुष्टि, असार २७ गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ मोतियाहीको सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार सम्पन्न भएको छ । नगरको आयोजना तथा सुशासनका हिमायती (जी क्यू) को सहजिकरणमा करिब ७० जनाको उपस्थिती बीच सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सुनुवाई कार्यक्रमको उद्घाटन नव निर्वाचित उप–मेयर महेश्वरी राईले ब्यानर बढेर गर्नुभएको थियो ।

सहभागीता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका लागि आर्थिक वर्ष २०७८/७९ का कामबाट नागरिक सन्तुष्ट छ छैन् विश्लेषण गर्न सुनुवाई कार्यक्रम गरिएको हो । सुनुवाई कार्यक्रममा जी क्यूका अध्यक्ष भरत खड्काले वडाबाट संकलन गरिएको नागरिक अभिमत प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
गुनासा सुनाउने क्रममा कृषकहरु अत्यधिक मारमा परेको र समयमा कृषीजन्य मल, विउविजन नपाईएको स्थानीय लिल बहादुर वोगटीले बतानुभयो । उनका अनुसार कृषि सहकारी संस्थामा बीउ भएको तर कृषकले बीउ नपाएको बताउनुभयो ।
वडा नं. २ का वडा अध्यक्ष घमान सिंघ खत्रीले बीउ विजनको समस्यालाई समाधान गर्न बजार अनुगमन गर्ने र तत्काल यसलाई समाधान गर्न भोलीबाटै लागि पर्ने उहाँले प्रतिवद्धतासमेत जाहेर गर्नुभयो ।

कार्यक्रममा उप–मेयर, नगरको समाजिक शाखा प्रमुख विश्वतीत राई, वडाका जनप्रतिनिधी, टोल विकास सस्थाका अध्यक्ष, वनको अध्यक्ष, बाल क्लवको अध्यक्ष लगाएत सर्वसाधारको उपस्थिती रहेको थियो ।

