
पूर्णपुष्टि, वैशाख २८ ।
उदपुरको त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरुमा ठूलो दलहरुले अवरोध गरेको छ ।
प्रत्येक वडामा ग्राभेल हुन बाँकी सडकहरुमा ग्राभेल गर्ने सम्झौता अनुसार काम गर्ने क्रममा त्रियुगा नगरपालिका–१३ को किरात चोक उत्तरको बाटोमा ग्राभेलको काम गर्दा गर्दै प्रहरीले रोक लगाएको छ ।
नगरपालिका स्रोतका अनुसार राजनीतिक दलको दवावमा आचार संहिता लागू हुनु भन्दा अगाडीको काम पनि रोक्नुले आर्थिक मसान्तको अन्त्यमा कामको बोझ बढ्ने बताए । कर्मचारी स्रोतले दलको नाम नभने प्रतिस्पर्धी दलले काम रोक्न दवाव दिएको बताए ।
