
पूर्णपुष्टि सम्बाददाता/२ असाेज, २०८३ । उदयपुर
उदयपुरकाे त्रियुगा नगरपालिकाले डेंगी तथा किटजन्य रोग नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकामा डेङ्गु लगायत कीटजन्य रोगको नियन्त्रण तथा रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजनासगै डेंगीको जोखिम न्यूनीकरण, लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पाँचवटा निर्णय गरेको हो ।
निर्णयअनुसार अश्विन महिनासम्म प्रत्येक शुक्रबार नगरपालिकाभित्रका सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा लामखुट्टेको प्रजननस्थल तथा वासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ। यसका लागि संघीय तथा प्रादेशिक कार्यालयहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत तथा विद्यालय, स्वास्थ्य संस्था र विभिन्न संघसंस्थालाई त्रियुगा नगरपालिकाले पत्राचार गर्नेछ।
नगरपालिकाका १६ वटै वडामा वडा कार्यालयको आयोजनामा टोल विकास संस्था, नागरिक समाज, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, युवा समूहलगायत सरोकारवालाको समन्वयमा प्रत्येक शुक्रबार ‘लामखुट्टेको प्रजननस्थल तथा वासस्थान खोज तथा नष्ट अभियान’ सञ्चालन गरिने भएको छ।
त्यसैगरी, त्रियुगा नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय उदयपुर, श्री नं. १८ वाहिनी, पशुपति प्रसाद गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ५ हेडक्वार्टर, स्वास्थ्य कार्यालय उदयपुर, नेपाल पत्रकार महासंघलगायत संस्थाको सहकार्यमा वडा नं. ३, १०, ११, १२ र १३ मा विशेष खोज तथा नष्ट गर अभियान सञ्चालन गरिनेछ। अभियान बिहान ६ः३० देखि ८ः३० बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका वर्कशप तथा ग्यारेज, कवाडी सामान व्यवस्थापन गर्ने व्यवसायी, निर्माण व्यवसायी, शिक्षक, आमा समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, युवा क्लबका सदस्य तथा कलेजस्तरका विद्यार्थी सञ्जाललाई समेत अभियानमा परिचालन गर्ने भएको छ। उनीहरूलाई किटजन्य रोगविरुद्धको ‘खोज तथा नष्ट गर’ अभियानसम्बन्धी अभिमुखीकरण दिइनेछ।
डेंगीसम्बन्धी व्यवहार परिवर्तन तथा जनचेतना अभिवृद्धिका लागि बजार क्षेत्र, स्वास्थ्य संस्था, वडा कार्यालय तथा भीडभाड हुने स्थानमा पोस्टर, ब्यानर र माइकिङमार्फत डेंगीको जोखिम, नियन्त्रण तथा रोकथामका उपायबारे प्रचारप्रसार गरिने निर्णय पनि बैठकले गरेको छ।
विद्यालय तथा शैक्षिक संस्थामा समेत डेंगी नियन्त्रण अभियानलाई प्रभावकारी बनाइने भएको छ। विद्यालय नर्स तथा स्वास्थ्यकर्मी परिचालन गरी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम र सरसफाइ अभियान सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाइ तथा त्रियुगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सबै विद्यालयलाई पत्राचार गरिनेछ । नगरपालिकाले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई नियमित व्यवहारका रूपमा विकास गर्दै समुदायको सहभागितामा डेंगी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
