
पूर्णपुष्टि, ३ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं ५ सिरपुर राईटोलमा बोरिङ सिँचाई आयोजनाको शनिवार उद्घाटन भएको छ । प्रदेश सरकारको २० लाख बरावरको बजेटमा बोरिङ सिचाई आयोजना निर्माणको उद्घाटन भएको हो । उच्च स्थानमा रहेको सिरपुर राईटोलमा पानीको निकै अभाव र समस्या छ । सोही समस्यालाई मध्यनजर गर्दै चिनकाजी राई सहित अगुवा व्यक्तिहरुले बराम्वार प्रदेश सरकार सँग बोरिङ सिँचाईको माग गरिरहेको थियो । उच्च स्थानमा भएकै कारण खोला नालाको पानी चढ्न समस्या छ । पानी अभावले त्यस स्थानमा बाली नाली र तरकारी खेतिबाट समेत स्थानीयहरु बन्चीत छ । सामान्यतया पिउनका लागि पानी भएतापनी वाली नाली र तरकारी खेतीका लागि भने पानी अभाव रहेका स्थानीयहरु बताउँछन् ।
बोरिङ योजना सुरु भएसँगै त्यहाँका घरधुरीहरुले खुसी ब्यक्त गरेको छ । आगामी दिनहरुमा तरकारी र बालीनाली लगाएर आत्मनिर्भर हुन पाउने भन्दै उनिहरुले खुसी ब्यक्त गरेको छ ।

अगुवा स्थानीय समेत रहेका राईटोल सिँचाई योजना समितिका अध्यक्ष चिनकाजी राईले यस योजनापछि ६५ घरधुरी लाभान्वीत हुने जनाए । करिब ६० बिघा जमिनलाई पानी उपलब्ध गराउने गरी बोरिङ सिचाई निर्माण सुरु भएको राईले जनाए । करिब सय मिटर तल बाट बोरिङ गरेर पानीको व्यवस्थापन गरिने अध्यक्ष राईको भनाई छ । यो योजना सफल भएमा धेरै किसान र स्थानीयहरुले तरकारी र वालीनाली खेती गर्न सुरु गर्ने जनाएको छ । कोशी प्रदेश सरकारको बजेट व्यवस्थापनमा निर्माण सुरु गरिएको सिंचाईको उद्घाटन प्रदेश सांसद हिमाल कार्कीले गरेका थिए । स्थानीयहरुको मागलाई सम्वोधन गर्दै कार्कीकै पहलमा बजेट व्यवस्थापन भएको थियो । यस अलवा त्यस स्थानका जनताहरुलाई पानीबाट बन्चीत नबनाउन अन्य योजनाहरु पनि पहल गर्ने सांसद कार्कीले जनाएको छ ।
