Friday, April 17News That Matters

दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव सम्पन्न

पूर्णपुष्टि, असार ५ । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित दुईदिने चौथो औद्योगिक वृहत प्रदर्शनी तथा पर्यटन र रैनाथे खाना महोत्सव सम्पन्न भएको छ । बिहिबार नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईको सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गैर बहादुर वि.क.को प्रमुख अतिथ्यतामा महोत्सव समापन भएको हो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गैर बहादुर वि.क.ले औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सव स्थानिय उत्पादन, सिप, श्रम र सम्मेलनको उत्सव रहेको बताउनुभयो । समन्वय प्रमुख वि.क.ले यस महोत्सव स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरु प्रदर्शन, प्रचार र बजारीकरण गर्ने उत्कृष्ट माध्यमको रुपमा रहेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्ष बिना राईले दुई दिने औद्योगिक पर्यटन तथा रैनाथे खाना महोत्सवलाई उद्योगी व्यवसायीहरुको एउटा उत्सवको रुपमा लिनुपर्ने बताउनुभयो । यदि यस महोत्सवलाई उत्सवको रुपमा लिन सकिएन भने उद्यमीहरु सफल हुन नसकिने बताईन् । नेपाल घरेलु महांघले आगामी दिनहरुमा पनि सबै संघ संस्थाहरुसँग सहकार्य गरेर साना उद्योगी व्यावसायीहरुलाई प्रवर्धन गर्नका निम्ति उद्योग प्रदर्शनी महोत्सवहरु आयोजना गर्ने बताईन् ।

महोत्सवमा रैथाने परिकार र आफ्नै स्थानीय उद्योगहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको थियो । यस अन्तगर्त आयुर्वेदिक औषधि, अर्गानिक आलु, औद्योगिक उत्पादनका लत्ता कपडा–ब्याग–गुडिया–स्कुलको युनिफर्म लगायत अन्य सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कार्य समिति उदयपुरको आयोजना तथा पर्यटन कार्यालय धरान र नेपाल घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको सहयोगमा भएको हो ।