
पूर्णपुष्टि, कार्तिक ३ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा दोस्रो स्वर्गीय कौलाश (युवराज) राई स्मृति फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बगाहा फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा फुटबल क्लब राजवासले (RYC) सिराहालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएको हो । ।
निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलमा सगरमाथाका तर्फबाट जर्सी नं. २५ का सुदिप श्रेष्ठ, जर्सी नं. ४५ का अर्जुन राणा मगर, जर्सी नं. ९ का प्रितम चौधरी र जर्सी नं. ११ का राहुल राईले गोल गरे । सिराहाका लागि जर्सी नं. १२ का राधे चौधरी, जर्सी नं. १९ का नरेश राई र जर्सी नं. ७ का बिबेक राईले गोल गरे ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत र उपमेयर महेश्वरी राईले प्रतियोगिताको संयुक्त उद्घाटन गरे । विजेताले रु. ५१ हजार र उपविजेताले रु. ३१ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । भोलि आयोजक बगाहा फुटबल क्लब र फ्युजन फुटबल क्लब बोक्सेबीच खेल हुनेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

