
पूर्णपुष्टि, चैत्र २९ । आगामी नयाँ बर्ष २०८० सालबाट चलचित्र विकास बोर्डले हरेक महिना फिल्मको बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाण्डौंमा चलचित्र कलाकार संघले आयोजना गरेको नयाँ बर्षको शुभकामनासहित धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष भुवन केसीले बौशाखदेखी मासिक रुपमा नियमित फिल्मको कमाई सार्वजनिक गर्ने बताएका हुन् ।
बोर्डले नेपाली फिल्मको इतिहासमा पहिलो चोटी २०७९ सालमा प्रदर्शन भएको स्वदेशीसहित विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो । फिल्मको आम्दानी सार्वजनिक गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलले नियमित रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने निर्णय गरेको र सोहीअनुसार कमाइ सार्वजनिक गर्न सुरु गरिएको केसीले बताए । मन्त्रालयबाटै निर्देशन भएपछि हामीले बक्स अफिस रिपोर्टलाई बाहिर ल्याएका हौं “उनले भने” अब मासिक रुपमा नियमित हुनेछ । हामी चलचित्र उद्योग भएन भन्छौं तर चलचित्रको तर्फबाट राज्यलाई दिनुपर्ने योगदान तिर्न बहाना बनाउने गरेको उनको भनाई छ । बोर्डले बक्स अफिसको विवरण सार्वजनिक गरेपछि निर्मातावृत्तहरु असन्तुष्टि देखिएका छन् ।
