
पूर्णपुष्टि, माघ १५
नेपालमा कुष्ठरोगीको संख्या बढ्न थालेको छ । सरकारले आफ्नो देश कुष्ठरोगि निवारणको मुलुक रहेको भ्रमका कारण नेपाली समुदयहरुमा कुष्ठरोगीहरु धमाधम देखा पर्न थालेको छ । उसोत विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण गरेको मुलुक भनेर घोषणा गरेको ११ वर्ष पुग्यो । तर निवारण घोषणा गरेपछि कुष्ठरोग प्रभावितको सङ्ख्या घट्नुको साटो तीव्र गति बढ्दै गएको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाकाअनुसार ०७७र०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्ठरोग प्रभावित बिरामी पत्ता लगाइएको हो । जसमा ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला यस रोगबाट भएका छन् ।

सन २०१० मा नेपाललाई डब्ल्यूएचओले कुष्ठरोग निवारण देश भनेर घोषणा गरेको थियो । प्रति १० हजारमा ०।७७ अर्थात् एकभन्दा कम रोगीको सङ्ख्या हुँदा निवारणको घोषणा गरिएको थियो । त्यस समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थपिएका थिए ।

वंशाणु रोग नभए पनि गत वर्ष १५ वर्ष मुनिका १०१ जना बालबालिका यस रोगबाट प्रभावित भएको पाइएको छ । जसमध्ये कुष्ठरोगका कारण ९५ जना बालबालिका अङ्गभङ्ग भई अस्पताल पुगेका थिए । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा। रवीन्द्र बाँस्कोटाले कुष्ठरोग लागेर अङ्गभङ्ग भइ देशभरबाट यति ठुलो सङ्ख्यामा बालबालिका सम्पर्कमा आउनुले चुनौती थपिएको बताउँछन् । उनी भन्छन्, ‘यो रोग वंशाणुगत रोग होइन । तर, समुदायमा धमाधम बच्चामा पनि पुष्टि भएको छ । यस रोग लागेपछि अङ्गभङ्ग हुन कम्तीमा १०र१२ वर्ष लाग्छ ,त्यसैले समुदायबाट बच्चालाई कसै न कसैबाट कुष्ठरोग सारिरहेको छ ।’

नेपाल सरकारले पनि २०२० सम्ममा कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो । तर, कुष्ठरोग निवारण घोषणा गरेको ११ वर्ष बितिसक्दा कुष्ठरोगीको सङ्ख्या घट्नुको साटो झन् बढ्दै गएको छ । निवारण घोषणा गरेको ११ वर्षपछि कुष्ठरोगीको सङ्ख्या बढेर प्रति १० हजारमा ०।९९ बढी पुगेको छ ।

