
पूर्णपुष्टि, जेष्ठ २८ । आईसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बावे तर्फ गएको छ । प्रतियोगिताको तयारीको लागी दक्षिण अफ्रिका गएको टोली उतैबाट जिम्वाबे गएको हो ।
दक्षिण अफ्रिकमा दश दिनको बसाईमा नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो । नेपाल दुबै अभ्यास खेलमा पराजित भएको थियो । अब नेपालले जिम्बावेमा प्रतियोगिताअघि ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।
यस छनोट प्रतियोगितामा नेपाल सहित १० देशले प्रतिष्पर्धा गर्नेछ । दश टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल सहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेको छ भने समुह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि दुवै समुहका शिर्ष तिन–तिन टिम सुपर सिक्समा छनोट हुनेछ। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिम गर्नेछ भने शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।
विश्वकप छनोट खेलका लागी नेपाली राष्ट्रिय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो रहेका छन् ।
