
पूर्णपुष्टि, १५ असार ।
एक नेपाली युवाले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालमा नेपालको झण्डा फहराएको छ । रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका हुन्।
उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको पाँच हजार ६४२ मिटर अग्लो एलब्रस हिमालमा सफल आरोहण गरेको जानकारी दिए ।
सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए।
एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए।
उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए।
