
पूर्णपुष्टि, कार्तिक १५
प्रदेश नं १ मा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धले निर्णय गरेको छ । हाल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त सरकारमा गठबन्धन छ भने एमाले प्रमुख प्रतिपक्षी दल हुन् ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले आलोपालोको दाबी नेपाली काँग्रेसको आन्तरिक विषय भएको भन्दै वर्तमान मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए।
यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो। आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ।
विश्वासको मतमाथि मतदान हुने अघिल्लो दिन आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई अघि सार्ने निर्णय गरेको हो।
प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकोले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने करिब निश्चित छ। त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सरकार बनाउने आह्वान गर्नेछन्। लगत्तै गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउने भएको छ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन्। सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।
गठबन्धनमा रहेको काङ्ग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।
