Sunday, May 10News That Matters

बजेटमा बुँदा नं १२७ नसमेटेको भन्दै उदयपुरको सामुदायिक विद्यालयका कर्मचारी उत्रिए धर्नामा

पूर्णपुष्टि, जेष्ठ २५ । उदयपुर जिल्ला भरीका सामुदायिक विद्यालयका कर्मचारीहरु धर्नामा उत्रिएका छन् । उदयपुर शिक्षा विकास तथा समन्वय इकाइमा जेष्ठ २० शनिबारदेखी धर्नामा उत्रिएको कर्मचारीहरु जेष्ठ २६ गते शुक्रबारसम्म धर्नामा बस्ने नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्ष लक्ष्मी कार्कीले जानकारी दिए ।

नेपाल शिक्षक महासंघले मिति २०८०÷०२÷१८ गते निकालेको विज्ञप्ती र नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको २०८०÷०२÷१७ गतेको पत्र अनुसार पहिलो चरणको अन्दोलन सकिएपछि पुष २७ देखी माघ १ गतेसम्म काठमाण्डौँ स्थित भद्रकालिमा रिले अनसन बस्ने अध्यक्ष कार्कीले बताए । विद्यालय कर्मचारीहरु न्युन वेतनमा कार्यरत रहेकोमा पुर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषयमा सरकारले निति तथा कार्यक्रममा बुदा नं १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटेपछि धर्नामा उत्रनु परेको उनले बताए । सरकारले २०८०–२०८१ बजेटमा बुँदा नं १२७ संसोधन गरी विद्यालय कर्मचारीको सेवा सुविधालाई सम्बोधन नगरे असार २ गतेदेखी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी समेत दिईएको छ ।

धर्नामा बसेका कर्मचारीहरुले बुदा नं १२७ खोई , संघिय शिक्षा ऐन तत्काल जारी गर, ५०१ नं फैसला गर, विद्यालय कर्मचारीको सेवा सुविधा कायम गर, तत्काल बजेट संसोधन गरी विद्यालय कर्मचारीको सेवा सुविधा कायम गर, हाम्रो श्रमको उचित व्यवस्था गर, विद्यालय कर्मचारी परिषद जिन्दावाद लगाएतका पम्पप्लेटहरु प्रदर्शन गरेका थिए ।