Thursday, April 30News That Matters

बेलायतका नागरिक सरकार बिरुद्ध सडकमा

पूर्णपुष्टि, माघ १९ गते ।  बेलायतका नागरिक सरकार बिरुद्ध सडकमा उत्रिएका छन् । करिब ५ लाख भन्दा बढि नागरिक सडकमा उत्रिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध बुधबार नागरिकहरु सडकमा उत्रिएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी रहेका छन् । उनिहरुको तलब वृद्धि प्रमुख माग रहेको साथै मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी रहेको अलजजिराले जनाएको छ । कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरेता पनि पास्ता खाएर दिन काट्नु परेको उनिहरुको भनाई छ ।

हड्तालअघि प्रधानमन्त्री कार्यालयले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएता पनि प्रदर्शनकारी चेतावनीसँग हच्किएनन् । सञ्चार माध्यमले ‘लकडाउन २०२३’ नाम दिएको यो प्रदर्शनलाई कतिपयले ‘वाकआउट वेनस्डे’ भनेका छन् । यसलाई कतिपयले १९७८र७९ को हड्तालसँग तुलना गरेका छन् ।

बेलायतमा हड्तालसम्बन्धी कडा कानुन छ र यति ठूलो संख्यामा सडकमा आउनु गैरकानुनी रहेको युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर क्याथरिनले बर्नार्ड वासिंटन पोस्टमा कुराकानी गर्दा बताएका छन् । ५ लाखभन्दा बढी मानिसले घरबार छोड्नु गम्भीर विषय रहेको उनले बताए ।