
पूर्णपुष्टि, माघ १९ गते । रास्वपाले गृहमन्त्री पाउने सहमति रहेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका हुन् । ओलीले रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताएका छन् ।
अध्यक्ष ओली आज नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न विराटनगर पुग्नु भएको छ । प्रधानमन्त्रीले गृहमन्त्रालय रास्वपालाई नदिने पक्षमा रहेको भन्ने प्रश्नमा सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको ओलीको भनाई छ । सहमतिमा गृहमन्त्रालय रास्वपाको भागमा परेको र रविजी गृहमन्त्री बन्नुभयो । अब रास्वपाले कसलाई गृहमन्त्री बनाउछ भन्ने कुरामा उनिहरुको निर्णय रहेको ओलीले बताए ।
माओवादी केन्द्रका नेताहरुले राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, काग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि ? भन्ने प्रश्नमा जवाफ दिदै ओलिले भने कांग्रेस त गृह राज्यमन्त्री दिए पनि अहिले सरकारमा आउँछ । राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरेका छन् । हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन् । ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ ओलीले भने।
