Tuesday, June 9News That Matters

ब्राउनसुगर सहित ५ जना पक्राउ

पूर्णपुष्टि फागुन ९ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ का २९ बर्षीय सुरज कुंवर, ३४ बर्षीय सुरेश श्रेष्ठ, कमल गाउँपालिका–४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वु, ट्याम्केमयुम–२ भोजपुरका ३४ बर्षीय प्रबिन राई र धरान–५ का २९ बर्षीय उज्वल हल्वाई रहेका छन् ।

हिजो झापाको भद्रपुर नगरपालिका–५ स्थितमा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका कुंवर र श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । ब्राउनसुगर बरामद भएसँगै उनिहरुलाई अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका को.३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।