
पूर्णपुष्टि, असार २४ । उदयपुरकी एक ब्रेन ट्युमर पीडित बालिकाको उपचारका लागि दक्षिण कोरियामा रहेका उदयपुरेहरुले आर्थिक सहयोग जुटाएका छन्। उदयपुरसेवा समाज दक्षिण कोरियाले रौतामाई गाउँपालिका–५, आँपटारको धोद्रे निवासी १२ वर्षीया निमिना राईको उपचारका लागि १ लाख १ हजार २ सय १७ रुपैयाँ सहयोग गरेको हो।
निमिना हाल काठमाडौंको दिर्घायु अस्पतालमा उपचाररत छिन्। डाक्टरहरुले उनलाई भक्तपुर क्यान्सर अस्पतालमा निरन्तर किमोथेरापी गर्नुपर्ने सल्लाह दिएका छन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिन भएपछि बालिका बचाउ अभियान मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।
उदयपुर सेवा समाज दक्षिण कोरियाका सल्लाहकार गगन राईको अगुवाईमा सञ्चालित अभियानमा ३६ जना उदयपुरेहरुको सहभागिता रहेको संस्थाका महासचिव जीतन राईले जानकारी दिए। उदयपुर सेवा समाज दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने उदयपुरेहरुबीच समन्वय र सहकार्य गर्नुका साथै स्वदेशमा आइपर्ने विपद् र समस्यामा सहयोग गर्दै आएको छ। संस्थाले यसअघि पनि विभिन्न मानवीय सहायता कार्यक्रमहरु सञ्चालन गरेको छ। निमिनाको परिवारले यस सहयोगप्रति आभार व्यक्त गरेको छ। उनीहरुले थप उपचारका लागि अझै सहयोगको आवश्यकता रहेको बताएका छन्। साथै, थप सहयोगका लागि अभियान जारी रहेको जनाइएको छ।


