Tuesday, April 21News That Matters

भदौ २४ को विध्वंसले सेयर बजारका दुई दर्जन कम्पनीलाई असर

पूर्णपुष्टि, असोज २ । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष असर परेको छ । विध्वंसका कारण तीनवटा पब्लिक कम्पनीमा सिधै भौतिक क्षति भएको छ ।

तारागाउँ रिजेन्सी होटेलको क्यासिनो भवन र पार्किङमा रहेका सवारीसाधनमा आगजनी भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको तल्लो स्टेशनमा आगजनीका कारण केबुलकार सेवा ठप्प भएको छ । नेपाल टेलिकमको वीरगन्जसहित केही कार्यालयमा क्षति पुगेको छ भने रिचार्ज कार्ड चोरिएका छन् ।

सबैभन्दा बढी असर निर्जीवन बीमा कम्पनीहरूमा परेको छ । नेप्सेमा सूचीकृत १३ निर्जीवन बीमा कम्पनीका लागि हालसम्म करिब ३० अर्ब रुपैयाँ माग दाबी आएको छ । निर्जीवन बीमक संघका अनुसार यो दाबी रकम अझै बढ्न सक्नेछ । रेटिङ कम्पनी इक्रा नेपालले पाँच निर्जीवन बीमा कम्पनीलाई नकारात्मक प्रभावमा राखेको छ ।

दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमालाई सबैभन्दा ठूलो झट्का लागेको छ । स्थानीय बीमा कम्पनीले यी दुवै कम्पनीमा चार–चार प्रतिशत अनिवार्य रिइन्स्योरेन्स गर्नुपर्ने व्यवस्था छ ।

होटल तथा पर्यटन समूहका छ कम्पनीको व्यवसायमा आगामी केही महिना सिधा असर पर्नेछ । विश्वभर नकारात्मक सन्देश फैलिएकाले पर्यटक आउने संख्यामा कमी आउने अनुमान छ । पर्यटन सिजन सुरु हुनै लाग्दा भएको यो घटनाले नेपाल आउने पर्यटकको मनोभावनालाई असर परेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए ।

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा क्षति पुगेको छ । केही एटीएम मेसिन तोडफोड भएका छन् तर बैंकिङ क्षेत्रलाई ठूलो नकारात्मक असर भने परेको छैन । उल्टै पुनर्निर्माणका लागि जाने कर्जाले बैंकहरूको व्यवसाय बढ्न सक्नेछ ।

आगजनीका कारण भत्किएका भवनहरू पुनर्निर्माण गर्नुपर्ने भएकाले निर्माण क्षेत्रलाई सकारात्मक प्रभाव परेको छ । सेयर बजारमा सूचीकृत चार सिमेन्ट कम्पनी सर्वोत्तम, शिवम्, घोराही र सोनापुरको सेयर मूल्यमा सकारात्मक प्रभाव पर्ने अनुमान छ ।

सेयर बजारमा सबैभन्दा धेरै ९४ कम्पनी भएको हाइड्रोपावर सेक्टर भने पूर्ण रूपमा सुरक्षित रहेको छ । कुनै पनि हाइड्रोपावर आयोजना वा कार्यालयमा क्षति नभएको स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । आयोजनाहरू ग्रामीण क्षेत्रमा रहेकाले शहरी हिंसाबाट सुरक्षित रहेको उनले भने ।